मौन अवधिमा भोट मागेको भन्दै राप्रपा महामन्त्रीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, मंसिर ११ ।
मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टीकरण मागेको छ ।

मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरेको भन्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले प्रधानसँग स्पष्टीकरण मागेको हो । आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यसैबीच, निर्वाचन आयोगले रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वर, काठमाडौंकी प्रधानाध्यापक डा. गीता खरेललाई पनि स्पष्टीकरण सोधेको छ । सामाजिक सञ्जाल यूट्यूबमार्फत काठमाडौं– १ का कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहको पक्षमा भोट मागेपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो ।

तर, चित्त नबुझेपछि आयोगले उनलाई कार्यालयमै उपस्थित हुन उर्दी जारी गरेको हो । आयोगले उनलाई २४ घण्टाभित्र उपस्थित हुन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *