४१ मतपत्र ल्याउन ताप्लेजुङमा हेलिकोप्टर प्रयोग

ताप्लेजुङ, मंसिर ११ ।
ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेको अति दुर्गम दुई मतदान केन्द्रको मतपेटिका सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याईएको छ ।

बिहान करीब साढे सात बजे गएको हेलिकोप्टरले फक्ताङ्लुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला प्रावि र याङ्मा आधारभुत विद्यालयको मतपेटिका ल्याएको हो । ४९ मतदाता रहेको ग्याब्लामा २५ मत खसेको थियो भने ५७ मतदाता रहेको याङ्मामा १६ मत खसेको थियो । यी दुबै मतदान केन्द्रका गरी ४१ मत ल्याउन हेलिकोप्टर प्रयोग गर्नु परेको हो ।

ग्याब्ला, याङ्मा, ओलाङ्चुङगोला र घुन्साको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरिए पनि ओलाङ्चुङगोला र घुन्सामा मौसम बदली भएका कारण हेलिकोप्टर बस्न नसक्दा दुई स्थानको मात्रै मतपेटिका सदरमुकाम ल्याईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङस्थित नेपाली सेनाकै गुल्ममा राखिएकाले मौसममा सुधार हुनासाथ ती दुई स्थानको पनि मतपेटिका सदरमुकाम ल्याईने प्रमुख जिल्ला अधिकारी मोहन जीसीले जनकारी दिए ।

आइतबार भएको मतदानमा १ सय ३१ मतदाता रहेको घुन्सामा ५९ र २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो । चारै स्थानमा जम्मा ४ सय ५९ मतदाता रहेकोमा १ सय ९४ मात्रै मत खसेको थियो । हिडेर आउन कम्तीमा चार दिन लाग्ने भएकाले खसेको १ सय ९४ मत सदरमुकाम ल्याउन लाखौंं खर्चिएर सरकारले हेलिकोप्टर प्रयोग गर्नुपरेको छ ।

यता १ सय १४ केन्द्रमध्ये चार केन्द्रबाहेक १ सय १० केन्द्रको मतपेटिका भने स्थल मार्गबाट सदरमुकाम ल्याउने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरबाट ल्याईएका दुई केन्द्रसहित ३८ केन्द्रको आईपुगेको छ । हालसम्ममा ७३ स्थलमध्ये २२ स्थानको ३८ केन्द्रको मतपेटिका सदरमुकाम आईपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *