छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

धादिङ, मंसिर ११ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा ७९ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मोटरसाइकल सडकभन्दा करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

यस्तै कपिलवस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गएराति दुई जनाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीका अनुसार, उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *