लामो समय मौन बसेको आयोगले लियो निर्णय, सर्लाही ४ का बाम उम्मेदवार यादवको उम्मेदवारी खारेज

काठमाडौं, मंसिर ११ ।
सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्ध स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाइ नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगे ।

सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ माग्यो । सर्वोच्चलाई जवाफ पठाउनुअघि नै आयोगले शनिबार शिवपुजनको उम्मेदवारी खारेज गरेको छ । सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले भने, ‘उहाँको उम्मेदवारी खारेज भएको छ । अब यो क्षेत्रमा वाम गठबन्धनको उम्मेदवार नै नहुने भयो ।’

पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद रहेका रायलाई कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध परेको पुनरावेदन सर्वोच्चमा अझै विचाराधीन छ ।

निर्वाचन आयोगले सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा नै तनहुँ क्षेत्र नम्बर २ मा गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो । जोशीलाई विशेष अदालतले भ्रष्टाचारको मुद्दा दोषी ठहर गरेको थियो । तर, सर्वोच्चमा मुद्दा विचाराधीन छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको उजुरीका आधारमा जोशीको उम्मेदवारी खारेज गरेको आयोग शिवपुजनबारे लामो समय मौन बसेको थियो ।

तर, मतदानको १० दिनअघि मात्र उम्मेदवारी खारेज भएको छ । अब सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *