प्रचण्ड पहिलो पटक बाँदरमुढेमा, भने-‘सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती’

चितवन, मंसिर १० । चुनावी प्रचार अभियान अन्तरगत माडी पुगेका नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे स्मारकमा माल्र्यापण गरेका छन् । माडीको बाँदरझुला जाने क्रममा अध्यक्ष प्रचण्डले स्मारकमा पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सोही बाटो भएर बाँदरझुला जानुपर्र्ने भएपछि प्रचण्ड पहिलो पटक गाडीबाट झरेर बाँदरमुढे घटनास्थलमा पाईला टेकेका हुन् ।

विं.स.२०६२ साल जेठ २३ गते बिहान माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नं. को यात्रुले खचाखच भरिएको बस कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा तत्कालिन नेकपा माओवादीको विद्युतीय धरापमा पर्दा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाइते भएका थिए । सो घटनामा तत्कालिन नेकपा माओवादीले ठूलो भूल भएको भन्दै सार्वजनिक माफि समेत मागेको थियो ।

पहिलो पटक प्रधानमन्त्री भएपछि माडीमा आयोजित ‘पहिलो माडी महोत्सव’को उद्घाटनका सिलसिलामा ०६९ फागुन १७ गते प्रचण्ड माडी पुगेका थिए । त्यसपछि माडी पुग्न नसकेका प्रचण्ड सोही क्षेत्र समेटेर बनेको निर्वाचन क्षेत्रका उम्मेदवार बनेपछि कार्तिक १८ गते माडी पुगेका थिए । उनले त्यो बेला पीडितसँग प्रत्यक्ष भेटघाट पनि गरेनन् भने सो घटनास्थलसम्म पनि पुगेनन् । पीडितसँग प्रचण्डले ०६३ कार्तिक ३ गते फुलबारीमा भेटेर न्याय दिलाउँछु भनेर प्रतिवद्धता पनि जनाएका थिए । तर, हालसम्म सो घटना गराउने व्यक्तिलाई कारवाही गरिएको छैन् ।

यसैबिच प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पणका क्रममा उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । चितवन क्षेत्र नं। ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन् ।

आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ । दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानुपर्ने हुन्छ । कडा सुरक्षाका साथ प्रचण्ड माडी हुँदै बाँदरझुला पुगेका हुन् । समय मिलेमा आज दिउँसो ठोरीको सोनापुरसम्म जाने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *