नाँचेर भोट माग्दै बामगठबन्धन बाँकेका उम्मेदवार

सरला सुवेदी,
कोहलपुर, ९ मंसिर

आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई विजयी बनाउन बाँकेका सबै क्षेत्रहरुमा बाम गठबन्धनको, सभा, भेला, घरदैलो अभियानले तिव्रता लिएको छ ।

शनिबार बाम गठबन्धनले बाँके क्षेत्र नम्बर १ का विभिन्न ठाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । प्रतिनिधी सभा बाँके क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वर गहतराज ‘अथक’ र प्रदेश सभा १ (ख) का उम्मेदवार आरती पौडेलले घरदैलो अभियानका क्रममा बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए । यस क्षेत्रको समग्र बिकासको लागी बाँके क्षेत्र नम्बर १ का जनताको मागहरु केन्द्र र प्रदेशबाट समस्या समाधान गर्ने प्रतिवद्धता गरेका थिए । त्यस्तै प्रदेश सभा १ (क) का उम्मेदवार कृष्णा के.सी. नमुनाले फत्तेपुरका विभिन्न टोल–टोलमा घरदैलो कार्यक्रम गरेकी छिन् ।

घरदैलोमा केन्द्रिय देखि स्थानीयस्तरका बाम गठबन्धनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको बामगठबन्धका नेता सूर्य ढकालले बताए । यसैगरी शनिबार कोहलपुर १३ खड्कवारमा बिभिन्न सास्कृतिक कार्यक्रमका बिच माओबादी केन्द्रका स्थायि कमिटी सदस्य तथा प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार तिलक परियारको प्रमुख आतिथ्यतामा र तुलसिपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेको बिशेष आतिथ्यतामा सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै परियारले राष्ट्रिय, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता र अखण्डताको रक्षा गर्न बाम गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । परियारले उत्पीडित महिला, दलित, मधेसी आधिबासी, जनजाती, अल्पसंख्यक , लोपोन्मुख समुदाय, पिछडिएको वर्गको समानुपातिक र समावेशी सिद्धान्तको आधारमा राज्यकका सम्पूर्ण संरचनामा प्रतिनिधित्व गर्न गराउन आफ्नो उम्मेदवारी भएको बताए ।

यसै चुनावी सभामा बोल्दै प्रदेश सभाकी उम्मेदवार आरती पौडेलले खड्कवार लगायत आफ्नो क्षेत्रलाई सबै किसिमको सुविधायुक्त नमुना क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गरिन् । प्रत्येक वडालाई अर्गानिक भिलेजको रुपमा स्थापित गरी कोहलपुर बजारलाई आधुनिक बजारको रुपमा बिकास गर्ने योजना रहेको पनि बताइन् । उनले यस क्षेत्र भित्रका सबै खेतीयोग्य जमिनमा सिँचाइको प्रबन्ध मिलाउने, व्यवसायिक शिक्षामा जोड दिने, महिलाको क्षमता विकासका लागी सशक्तीकरण, सीप विकास तथा नेतृत्व विकासका मार्फत सबैको क्षमता अभिवृद्धि गर्न नै आफ्नो उम्मेदवारी रहेको दाबी गरिन् ।

यसैगरी चुनावी सभामा बोल्दै प्रतिनिधी सभाका उम्मेदवार महेश्वर गहतराज ‘अथक’ले सुकुम्बासीलाई लालपुर्जाको व्यवस्था गर्ने, बाँके राष्ट्रिय निकुन्जभित्र तारबारको व्यवस्था गर्ने र जंगली जनावरको कारणले हुने क्षतिको उचित क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *