भोलि पहिलो चरणको निर्वाचन, ३२ जिल्लामा ७०२ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, मंसिर ९ ।
प्रदेश र प्रतिनिधिसभा अन्तरगत ३२ जिल्लामा भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदैछ । मतदानको पूर्वसन्ध्यामा शनिबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भोलि बिहान ७ बजे आ-आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भई मतदानमा सरिक हुन मतदातालाई अनुरोध गरेका छन् ।

सबै निर्वाचन स्थलहरुमा मतदान बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५ बजेभित्र मतदानस्थलमा छिरिसकेका मतदाताले समेत मत खसाल्न पाउनेछन् ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन मतदान अधिकृतलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ । स्थान सहज र फराकिलो हुने ठाउँमा मतदानका लागि त्यस्ता मानिसलाई छुट्टै लाइनको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । अन्यका हकमा भने महिला पुरुष दुबैले छुट्टाछुट्टै लाइनमा बसी मतदान गर्नुपर्ने पर्नेछ ।

स्थानीय चुनावमा जस्तै कुनै कारणबस मतदाता परिचयपत्र नभएमा नागरिकता, ०७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइनेछ ।

७०२ उम्मेदवार चुनावी मैदानमा

पहिलो चरणमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार भोलि ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९ सय १९ मतदान स्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्र राखिएको छ ।

तीन रंगका मतपत्र, चार ठाउँमा छाप

मतदान गर्दा मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा स्वस्तिक छाप लगाउनु पर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मतपत्रमा रहेको चुनाव चिहृनमध्ये एउटामा छाप लगाउनुपर्नेछ ।

प्रदेशसभाका प्रत्यक्ष उम्मदेवारका लागि कालोमसीले छापिएका निर्वाचन चिहृनमध्ये कुनै एकमा स्वस्तिक छाप लगाएर तोकिएको मतपेटिकामा मत खसाल्नुपर्नेछ ।

समानुपातिकतर्फ एउटै मतपत्र छ । तर, त्यहाँ केन्द्र र प्रदेशका लागि माथि र तल दुई ठाउँमा छाप लगाउनुपर्ने छ । रातो रंगको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेश सभाका लागि स्वस्तिक चिन्ह लगाउनुपर्नेछ ।

आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई आचारसंहिता पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन आहृवानसमेत गरेको छ । आयोगले पत्रकारहरुलाई पनि आचार संहिता ख्याल गर्न भनेको छ ।

आम निर्वाचनको राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पर्यवेक्षण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *