प्रदेश नं. ७ मा १ सय ४ मतदान स्थल अति संवेदनशील, ३ घेरामा सुरक्षा प्रबन्ध

डोटी, मंसिर ८ ।
पहिलो चरणको निर्वाचन अन्तरगत निर्वाचन हुने प्रदेश नं। ७ का ४ जिल्लाहरुमा १ सय ४ मतदानस्थललाई अति संवेदनशीलमा सुचिकृत गरिएको क्षेत्रीय प्रशासन कार्यालय, राजपुरले जनाएको छ ।

‘जम्मा ४ सय २५ मतदान स्थलहरु रहेका छन्’, निमित्त क्षेत्रीय प्रशासक शंकर बिष्टले भने, ‘यसमा हामीले १ सय ४ स्थललाई अति संवेदनशील केन्द्रका रुपमा हेरेका छौं ।’

बिष्टले १ सय २३ मतदान स्थलहरुलाई सम्वेदनशील र एक सय ९८ लाई सुरक्षाको दृष्टिले सामान्य मतदान स्थलका रुपमा राखिएको बताए । उनले भने, ‘अति संवेदनशील र संवेदनशील मतदान स्थलहरुमा सामान्य अवस्थामा भन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको छ ।’

निमित्त क्षेत्रीय प्रशासक बिष्का अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना गरि तीन तहको सुरक्षा व्यवस्था मिलाईएको छ ।

उनले आवश्यकता अनुसार घुम्ती सुरक्षा टोली समेत खटाइएको जानकारी दिए ।

उनका अनुसार सबै मतदान केन्द्रहरुमा बिहीबार साँझै कर्मचारीहरु पुगिसकेका छन् भने शुक्रबारदेखि मतदाता परिचय पत्र वितरणको कार्य भइरहेको छ ।

पहिलो चरणको निर्वाचन अन्तरगत परेका बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्लाका गरी ४ प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्यका लागि मंसिर १० गते निर्वाचन हुँदैछ ।

समग्र चुनावी प्रतिस्पर्धामा भने प्रतिनिधिसभाका लागि २० र प्रदेशसभाका लागि ३५ गरी ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *