सिन्धुपाल्चोकमा देवयानीमाथि पानीको जार प्रहार, सुरक्षाका लागि हवाई गस्ती एवम् कमाण्डो परिचालन

चौतारा, मंसिर ।
मौन अवधिमा चुनावी सभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् ।

बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले स्कर्टिङ गरेर काठमाडौं पठाएका छन् ।

शुक्रबार बिहान चौतारा नगरपालिकाको कल्लेरीस्थित कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेको भन्दै वामपन्थी कार्यकर्ताले आपत्ति जनाएका थिए ।

सो क्रममा विवाद हुँदा एकजनाले पानीको जार उठाएर देवयानीमाथि प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीका कार्यकर्ताले विरोध जनाएका हुन् । पानीको जारले देवयानीलाई लाग्न पाएन । उनलाई तत्कालै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले सो ठाउँबाट भगाएको बताइएको छ ।

देवयानीलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरी सैनिक क्याम्पमा राखेको थियो । त्यहाँ पनि वामपन्थी कार्यकर्ताले नाराबाजी गरेपछि उनलाई सुरक्षा सहित काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, सिन्धुपाल्चोकको आकाशमा सेनाले हेलिकोप्टरबाट समेत गस्ती गरिरहेको छ ।

अति संवेदनशील जिल्ला मानिएको सिन्धुपाल्चोकमा चुनाव शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीका एसएसपी सहित १३ जना डीएसपीको टोली कमाण्डोसहित परिचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *