मंसिर १० को चुनावका लागि आजबाट मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौं, मंसिर ८ ।
आसन्न प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने जिल्लाहरुमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । आगामि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको लागि आज र भोलि गरि दुई दिन मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएकोे छ ।

गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।

आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । आयोगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ ।

आयोगले नामावली सार्न, सच्याउन निवेदन दिएका मतदातालाई समेत शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रमा गएर परिचयपत्र बुझ्न सुझाएको छ ।

गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।
पहिलो चरणअन्तर्गत देशका ३२ जिल्लामा मंसिर १० गते चुनाव हुँदैछ भने बाँकी रहेका ४५ जिल्लामा आगामि मंसिर २१ गते निर्वाचन हुँदैछ ।
आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *