बिधुत्मा रैका,
कोहलपुर, जेठ ६,
कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको बालज्योति माद्यामिक विद्यालयले १३ औं टिकाराम सुवेदी स्मृति दिवस मनाएको छ ।
बालज्योति माद्यामिक विद्यालयले एकल गजल वाचन लगायतका विविध कार्यक्रम गरि स्मृति दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी देवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल रहेका थिए ।
कार्यक्रममा टिकाराम सुवेदीको फोटोमा माल्यार्पण गर्दै उनको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । कोहलपुरका शैक्षिक अभियन्ता तथा साहित्यप्रेमी स्वर्गीय टिकाराम सुवेदीको १३औँ स्मृति दिवसको अवसरमा गजलकार देवकी निरौलाको “एकल गजल वाचन“ कार्यक्रमसमेत गरिएको थियो । गजल गायनबाट धेरैको मन जित्न सफल गजलकार निरौलाले कोहलपुरस्थित बालज्योति माविमा आयोजना गरिएको सो कार्यक्रममा दर्जन बढी गजलहरु गाईन् ।
यस क्षेत्रका दुई दर्जन बढी साहित्यकार र विद्यालयका सयौँ विद्यार्थी तथा शिक्षकहरूको उपस्थितमा सम्पन्न भएको एकल गजल वाचन कार्यक्रममा गजलकार निरौलाको व्यक्तित्व तथा कृतित्वका बारेमा गजलकार केशव निमेशले प्रकाश पारेका थिए । स्व. टिकाराम सुवेदीको व्यक्तित्वका बारेमा साहित्यकार बद्री ढकाल हिरामनीले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले केही समयदेखि कोहलपुर यस क्षेत्रकै प्रमुख साहित्यिक गतिविधि र कार्यक्रमको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गरे ।।
कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक ईश्वरी बि.क., हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान सल्लाहकार सागर गैरे, पुष्कर रिजाल, उपाध्यक्ष सुमित्रा न्यौपाने, सह–सचिव खोपिराम वली, सदस्य डा. देबेन्द्र आचार्य, मणिप्रसाद गैरे रचना विभाग प्रमुख हेमप्रकाश मन्जिल, विक्रम सिसिर, गजलकार नमिता बराल, चिरन्जीवी सुवेदी, प्रधानाध्यापक दामोदर पौडेल, लगायतका साहित्यप्रेमीको सहभागिता रहेको थियो । सरिता काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रकाश मरासिनीले गरेका थिए ।