कोहलपुर, माघ ७,
नवलपूरमा परम्परागतरूपमा प्रयोग गरिँदै आएको बाँस र निगालोको चोयाबाट बुनिएका सामग्री लोप हुँदै गएका छन् ।
प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका हुन् । कतिपय ठाउँमा यस्ता सामग्री बने पनि बिक्री नहुने र लागत अनुसारको मूल्य नपाउने समस्या छ । गैँडाकोट ३ भुजेल गाउँका ३५ घरधुरीले चोयाबाट बन्ने सामग्री बनाउँदै आएका छन् । तर मेहनत बढी लाग्ने भए पनि उचित रकम नआएको र बजारीकरणमा पनि समस्या भएको स्थानीयवासीको भनाइ छ ।
जिल्लाको पहाडी गाउँमा बाँसको उत्पादन राम्रो हुने भएकाले पनि जीविकोपार्जनका लागि महिलाहरू समेत डोको डालो बुन्छन् । चार वर्षअघिसम्म उत्पादित सामानको उचित बजारीकरण गरिदिने आश्वासन दिएको गैँडाकोट नगरपालिकाले बोली फेरेको छ । पछिल्लो समय प्लाष्टिकबाट बनेका भाँडाकुँडाको प्रयोग बढेपछि यसको प्रत्यक्ष असर परम्परागत रुपमा बाँस र निगालोका चोयाबाट सामग्री बनाउने र माटोका भाँडा बनाउनेहरूलाई परेको छ ।