बिधुत्मा रैका,
कोहलपुर, पुष १,
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ मा नाली निर्माणको कामले तिव्रता पाएको छ ।
वडामा स्थानीय सरकार निर्वाचित भएर आएपछि सडक विस्तार र नाली निर्माण कार्यले तिब्रता पाएको हो । वडाका विभिन्न स्थान तथा टोलहरुका सडकमा हाल नाली निर्माण भैरहेका छन् । शुक्रबार पनि वडामा निर्माण गरिन लागेको नालीको उद्घाटन गरिएको छ । वडाध्यक्ष हरी सिंह कठायत, निर्वतमान वडाध्यक्ष कर्ण सिंह बिसी लगायत वडाका सम्पूर्ण सरोकारवाला निकायहरुको सहभागितामा विधिपूर्वक नाली निर्माणको उद्घाटन गरिएको हो ।
टोल कमिटि अध्यक्ष नविन रायमाझीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष कठायतले आफ्नो वडालाई समृद्ध बनाउन तथा व्यवस्थित वडा बनाउन आफू प्रतिबद्ध रहने बताएका छन् । वडाको विकास निर्माणका लागि साथ सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदैं वडाध्यक्ष्य कठायतले सड्क, नाली, भौतिक तथा आर्थिक सामाजिक विकास लगायत अन्य विकास निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर निर्माणका कामहरु अघि बढाएको बताएका छन् । कठायतले विकासका हरेक कार्य यथासम्भव गर्ने तथा आफूले चुनावमा जनतासँग गरेका बाचाहरू पुरा गर्दै जाने बताउँदै आफू निर्वाचित भएको छोटो समयमा पनि उल्लेख्य काम गरिरहेको बताए ।
उनले वडाका विभिन्न स्थानमा अतिक्रमण गरि बसेका क्षेत्रहरु खाली गराउँने र भुमिहिन सुकुम्वासीहरु लागि लालपुर्जा वितरणलाई दु्रत बनाउने बताए । वडाको विकास निर्माणका लागि जनतालाई समेत विकास निर्माणका कार्यमा हातेमालो गर्न आग्रह गर्दै सुन्दर, शान्त र विकसित वडा बनाउन आ–आफ्नो स्तरबाट सबैको सहयोग अपरिहार्य रहने बताए । वडामा पर्यटन पर्वद्धन गरि पर्यावरणीय क्षेत्रबाट आर्थिक विकास गर्न सकिने भन्दै होम स्टे निर्माणको लागि आफूले योजना बनाईरहेको बताए । कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष बि.सि.ले आफ्नो ५ वर्षकार्य काल सफल भएको बताएका छन् । बि.सी.ले आफ्नो कार्यकालमा सुभारम्भ भएका निर्माणहरुलाई निरन्तरता दिदैं सम्पन्न गर्न वडाध्यक्ष कठायतलाई आग्रग गरे ।
आफू वडा निर्माणका लागि जहिले पनि तत्पर रहेको बताउँदै अबका दिनमा पनि साथमै रहने बताए । आफू वडाध्यक्ष हुँदा वडामा थुप्रै काम तथा विकास गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै चन्द्र बहादुर जि.सी.ले वडामा हुने विकास निर्माण तथा वडाका हरेक क्रियाकलापका पक्षको साथ दिदैं जाने बताए । उनले आफू वडाको भुमि सहजीकरणमा रहेर सहयोग गरिरहेको बताए । वडाध्यक्षको सक्रियताले अवश्य पनि वडाको मुहार परिवर्तन गर्न सकिने जि.सी.ले बताए ।
आर सिसि ड्राईन कन्ट्रक्सन अन्तरगत रत्न राजमार्गको मनकामना चोकदेखि रिदमचोकसम्म ६८ मिटर निर्माण हुने भएको छ । निर्माण व्यवसायी जी एण्ड जी कन्ट्रक्सनले नाली निर्माण गरिरहेको छ । गएको कार्तिक २१ गतेको सम्झौता अनुसार फागुन ३० गते सम्म नाली निर्माणको सम्पूर्ण काम समापन गरिसक्ने एण्ड जी कन्ट्रक्सनका प्राविधिक हरिश जोशीले बताएका छन् । शहरी विकास तथा भवन कार्यालय नेपालगंजको समन्वयमा निर्माण गरिने लागेको नालीका लागि प्रदेश सरकारले २० लाख रकम उपलब्ध गराएको छ ।
नाली निर्माणका लागि १९ लाख ५५ हजार ८ सय ९७लागत अनुमान गरेको भएपनि १४ लाख ५५ हजार १ सय ३५ मा सम्झौता भएको छ । यस टोलमा लामो समयदेखि नाली निर्माण न हुनाले बर्सेनि आवत जावत तथा विभिन्न ठाउँबाट ओहोर दोहोर गर्नेहरुले समस्या भोग्दै आएका थिए । नाली निर्माण स्थलमा समाजसेवी तथा जेष्ठ नागरिक गोपाल प्र.शर्माले पुजा सम्पन्न गरेका थिए । साथै वडाध्यक्ष कठायल, वडा सचिब तथा प्राविधिक लगायतले वडाका विभिन्न स्थानमा निर्माण भैरहेका नालीहरुको अवलोकन/निरीक्षण गरेका छन् ।