बिधुत्मा रैका,
कोहलपुर, मंसिर २८,
बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्त तथा पर्यटनका लागि नेपालकै प्रमुख पर्यटकिय गन्तव्य हो । बर्दिया राष्ट्रिय निकञ्ज घुम्न तथा पाटेबाघ, गैंडा, हात्ति, चित्तल लगायतका वन्यजन्त हेर्नका लागि पनि स्वदेशी तथा विदेशी पर्यटकहरु बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन् । त्यहाँका स्थानीयहरु पनि घुम्न आउने पर्यटकहरुलाई हार्दिकताका साथ स्वागत गर्दछन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पाईने वन्यजन्तुकै कारण पर्यटन व्यवसाय फस्टाए पनि किसान भने बाली जोगाउने चिन्तामा छन् । ठाकुरद्धारा नगरपालिका वडा नम्बर ९ शिवपुरका किसानहरु वन्यजन्तुले बाली खाईदिने भन्दै बाली जोगाउने चिन्तामा छन् ।
खेति लगाए पनि वन्यजन्तुबाट जोगाउन मुस्किल पर्ने भएको स्थानीय तारा रिजालले बताईन् । वर्षेनी आफूले लगाएको बाली निकुञ्जबाट आउने हात्ति, बँदेल, बादर तथा चित्तलले सखाप पार्ने गरेको रिजालले बताईन् । उनले भनिन्,–‘वन्यजन्तुले विगत ३० वर्षदेखि हाम्रो बालीमा नोक्सान पारिरहेको छ ।’ उनले वन्यजन्तुले आफूहरुलाई कुनै कुरामा घाटा गरेको भएपनि कुनै कुरामा भने फाईदा नै भएको बताईन् । उनी भन्छिन्,–‘वन्यजन्तु गाउँमा आउने समस्याको समाधान हुनुपर्छ ।’ बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु गाउँ तथा खेतबारीमा नपस्न तारजालीका साथै बिद्युतिय तार लगाउँदै आएको छ । तर पनि केही समय नआएपछि पुनः हात्तिले भत्काएर गाउँमा पस्ने गरेको स्थानीय मनसरा जैशी बताउँछिन् ।
विषेश गरि यहाँका किसानहरुको बाली चित्तलले खाईदिने गरेको छ । चित्तल मानिसहरुको वस्ती नजिकै रहने भएका कारण खेतबाली पनि सबैभन्दा धेरै खाईदिने गरेको पार्वती आचार्यले बताईन् । दैनिक सयौंको बथानमा आउने गरेका चित्तलहरु दिनभर वस्ती नजिकै चर्ने गरेका छन् । स्थानीय लक्ष्मी रिजाल भन्छिन्,–‘चित्तल र हाम्रा बाख्राहरुसँगै चरिचरन गर्छन् र यो देख्दा खुशी पनि लाग्छ । तर सँगै चरिरहेका चित्तल र बाख्रालाई कहिलले काही बाघले खाईदिदा निकै दुःख लाग्छ ।’ शिवपुर निकुञ्जसँग छ । यहाँ दिउँसो पनि बाघ आएर बाख्रा, बंगुर, कुकुर लगायतका घर पालुवा जनावर खाईदिने गएको स्थानीय चाँदनी रिजाल बताउँछिन् । वन जंगल विषेश गरि यहाँका महिलाहरुको दैनिकीसँग जोडिएको छ ।
किसानको करेसा बारीमा लगाएको तरकारी समेत निकुञ्जमा रहेका हात्ति, गैंडा, बँदेल, बादर तथा चित्तलले नष्ट गरिदिने गरेको उनीहरु बताउँछन् । खेतबारीमा तारबार लगाउँदा समेत बाली जोगाउन नसकेको उनीहरुको दुखेसो छ । घाँस काट्न, दाउरा ल्याउन होस् या गोठालो जादा उनीहरु जंगली जनावरको त्रासमा रहन्छन् । यीनै जनावर निकुञ्ज आसपासका बस्तीमा आउँछन् र किसानलाई दुख दिन्छन् । निकुञ्जले जनावर बाहिर आउन नदिने गरी तारजाली गरिदिनुपर्ने तथा पर्खाल लगाईदिनु पर्ने स्थानीय किसानको माग छ । निकुञ्जमा जनावरको सङ्ख्या बढ्नु प्रकृति र प्रर्यटकीय हिसाबले राम्रो मानिए पनि जनावरका कारण बालिनालीमा पुग्ने क्षतिबाट भने शिवपुर आसपासका किसान हैरान छन् ।
बिद्युतिय तार मात्रै नभई पर्खाल लगाईदिन त्यहाँका किसानहरुले माग गरेका छन् । सम्बन्धित सरोकारवालाहरुले वस्ती तथा खेतबारीमा जनावर आउन नदिन पर्खाल सबैभन्दा उत्तम हुने भन्दै पर्खालको माग गरेका हुन् । किसानलाई राहतसँगै जनावर बस्तीमा जान नदिनका लागि निकुञ्जले विभिन्न काम गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण कोषका रविन कढेरियाले बताएका छन् । वन्यजन्तुबाट बाली बचाउँनका लागि वैकल्पिक बाली लगाउँन किसानलाई कडेरियाले आग्रह गरे । आम्दानीका लागि थुप्रै वैकल्पिक बाली भएका कारण बेसार, अदुवा, कागती लगाएतका बाली उत्पादन गर्न सकिने उनको सुझाव छ । निकुञ्जले वन्यजन्तुबाट भएको नोक्सानको क्षतिपुर्ती दिदैं आएको छ ।
बाघबाट भएको मानवीय क्षतिको लागि १० लाख दिदैं आएको निकुञ्जका संरक्षण अधिकृत बद्रि बिनोद दाहालले बताए । आवश्यक प्रक्रिया अनुसार क्षतिपुर्ती दिदैं आएको दाहालले बताए । खेतीबालीको नोक्सानीको पनि राहत दिने गरेको उनी बताउँछन् । तर हात्ति, बँदेलले गरेको नोक्सानीको मात्रै राहत दिने गरेको चित्तलले गरेको नोक्सानीको राहत नदिनाले आफूहरु मर्कामा परेको किसाहरु बताउँछन् । ९ सय ६८ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा ५ सय १३ प्रजातिका चराहरु देख्न पाईन्छ ।
लुम्बिनी तथा कर्णालीका गरि ३ जिल्लाको संगम यो निकुञ्जमा १२१ प्रजातिका माछा, १२० वटा हात्ति, डल्फिन, ८ सय २० प्रकारका रुखविरुवा, लोपउन्मुख अवस्थामा रहेको लाटोकोसेरो, चित्तलहरुको अवलोकन गर्न सकिन्छ । जरायो, चितुवा, मृग, गोही, चौसिंगा, मयुर लगाएतका जनावर पनि उल्लेख्य छन् । ६१ प्रकारका वन्यजन्तु रहेको यस निकुञ्जको पहिचान हो पाटेबाघ । पाटेबाघको संख्या हाल १२५ रहेको छ । सन् २००९ मा यहाँ १८ वटा पाटेबाघ रहेकोमा हाल बाघको संख्या यो निकुञ्जमा दोब्बर रहेको छ । २०१३ मा ५०, २०१८ मा ८७ वटा बाघ रहेको यो निकुञ्जमा २०२२सम्म आई पुग्दा १२५ पुगेको संरक्षण अधिकृत दाहाल बताउँछन् ।
बाघको संख्या बढाउन सफल निकुञ्जमा भने गैंडाको संख्या भने घटेको छ । पानीको आहाल, चोरी निकासी, चरिचरन लगायतका विभिन्न समस्याले गैंडाको संख्या घटेको दाहालले बताए । सन् २००० मा ६३ वटा गैंडा रहेको निकुञ्जमा २००५ मा ६७, २००७ मा ३१, २००८ मा २२, २०११ मा २४, २०१५ मा २९ तथा १९ मा ३७ गैंडा रहेका थिए । हाल निकुञ्जमा गैंडाको संख्या ३८ रहेको छ । गैडाको संख्या बढाउनका लागि निकुञ्जले पहल गरिहेको र उचित व्यवस्थापनमा लागेको दाहाल बताउँछन ।