कोहलपुर, मंसिर १६,
आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन कोहलपुर नगरपालिका वडा नम्बर १५ चन्हवामा आलुबाली कृषक पाठशाला सञ्चालन गर्दै खेतबारीमै सिकाउने गरिएको छ ।
वडाको चन्हवा आइ पि एम कृषक पाठशाला नामाकरण गर्दै किसानहरुलाई आलुको अनुसन्धान, रोगकिराको व्यवस्थापन र कम्पोष्ट मल बनाउने तरिका, आलुका प्रजाती, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै सिकाउने गरिएको हो । कोहलपुर नगरपालिकाको नगर कृषि शाखा मार्फत वडामा १६ हप्ते पाठशाला कार्यक्रममार्फत पाठशाला सुरु भएको नगर कृषि शाखा प्रमुख चन्द्र बुढाले बताएका छन् ।
किसानले आलु खेती गरेपछि अपेक्षाअनुसारको उत्पादन गर्न नसकेकोले पाठशाला सञ्चालन गरिएको बुढाले बताए । आलु खेतीबारे पाठशाला सुरु भएपछि चन्हवाका किसानहरु आलु खेतीमा निकै हौसिएका छन् । पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको छ । जुन विधिबाट बढी आलु उत्पादन हुन्छ, किसानलाई त्यही विधिबाट आलु खेती गर्न सिकाउने शाखा प्रमुख बुढा बताउँछन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले किसानलाई आधुनिक विधिबाट आलु खेती गर्न उत्साहित गरिएको प्रति खुशी व्यक्त गरे । कृषि प्राविधिकले कृषककै बारीमा गएर तालिम दिँदा किसानलाई सहज हुने ढकालले बताए । आफ्नै बारीमा उत्पादन भएका खाने कुराको प्रयोग गर्दै बाहिरका खानेकुरा नखान उनले आग्रह गरे । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित तरकारी निर्यात गरी प्रशस्त आम्दानी गर्न सकिने उनको भनाई थियो । शुक्रबार पनि किसानहरुलाई खेतबारीमा आलु खेतीको बारेमा प्रशिक्षण गरिएको थियो । साथै सहजकर्ता छत्र बहादुर खत्रीले किसाहरुलाई लागि स्केल, कटर तथा मेटर समेत हस्तान्तण गरिएको हो । कार्यक्रममा चन्हवा आइ पि एम कृषक पाठशालाका किसानहरुको सहभागिता रहेको थियो ।