बाँके । नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो २४ घण्टामा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थ डेस्कमा गरिएको परीक्षणबाट २ सयजना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १ सय ९ जना पुरुष र ९१ जना महिला छन्।
नयाँ संक्रमितमा १ सय ३८ जना बाँके निवासी र ६२ जना जिल्लाबाहिरका हुन्। योसँगै बाँकेमा संक्रमितको संख्या ५ हजार १ सय ९४ पुगेको छ। हालसम्म बाँकेका कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भइसकेको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अनुसार हाल ४ सय १४ जना आइसालेसनमा छन्। भेरी अस्पतालमा ९० र होम आइसोलेसनमा ३ सय ७९ जना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
उनका अनुसार भेरी अस्पतालको १ सय ४२ बेड क्षमताको कोभिड वार्डमा ४० जनाको आइसियु र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको चिकित्सक बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।