काठमाडौं, २९ फागुन । निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ ।
रेल मार्ग मानवबस्ती र निजी खेतीयोग्य जमिनमा नपर्ने गरी अघि बढाउने सहमति गरेर सर्वेको काम थालिएको हो । बाराको बकैया खोला किनार ड्यामको पूर्वी किनारलाई समाउँदै रेलमार्ग निर्माण गर्ने सहमति भएपछि स्थानीय पनि सर्वेको काम अघि बढाउन सहमत भएका हुन् । सो मार्गबाट रेलमार्ग अघि बढाउँदा मानवबस्ती, निजी खेतीयोग्य जमिन नपर्ने र तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने स्थानीयहरू बताउँछन् ।
यसअघि रेलमार्ग बस्ती र खेतीयोग्य जमिनबाट अघि बढाउन खोजेको र कसैलाई जानकारी नै नदिई सर्वे गरेको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
निजगढ नगरपालिकामा भएको छलफलपछि समस्या समाधान भएको हो । यसअघि, गत ९ फागुनमा रेल विभाग काठमाडौंका महानिर्देशक प्रमिला बज्राचार्य, रेलमार्गका लागि युसिङ कोरियन सर्वे कन्सल्ट्यान्टका मुख्य सर्वेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनियर देवेन्द्रप्रसाद साह, नेपाली सर्वे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले निजगढको बकैया खोलाको पूर्वीतर्फको क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।