काठमाडौं, २६ फागुन । सरकारद्वारा प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी फुकुवा भएसँगै उनी अहिले विभिन्न जिल्लामा दौडधुपमा व्यस्त छन् । उनलाई पहिलेजस्तो सरकारले पक्राउ गरेर जेल चलान गर्छ भन्ने कुनै त्रास छैन । उनको दैनिक जीवन शैली नयाँ रुपले मोडिएको देखिन्छ ।
उनको अघिपछि सरकारी सुरक्षार्थी तैनाथ खटिएका छन् । हतियार नबुझाइ वार्तामा आएका विप्लवलाई अहिले कति सुरक्षाकर्मीले सुरक्षा दिइरहेका होलान् ? सबैलाई यो चासाको विषय हो । हो, अहिले पार्टी फुकुवा भएसँगै उनलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा १० जना प्रहरीले सुुरक्षा दिँदै आएका छन् ।
जनयुद्धमा विप्लवसँगै होमिएर शान्तिवार्तामा आएपछि पटक पटक प्रधानमन्त्रीसमेत बनेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा सरकारतर्फबाट प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा करिब १५ जना रहेको जनाइएको छ । यस्तै, पूर्वलडाकु कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोलीले अध्यक्ष प्रचण्डको सुरक्षा जिम्मा लिएको छ ।
गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७७ अनुसार प्रधानमन्त्रीको सुरक्षा व्यवस्था नभए पनि हालको स्थितिलाई हेरेर सुरक्षा व्यवस्था मिलाइएको जनाइन्छ ।
यसअघि अध्यक्ष प्रचण्डको सुरक्षामा २५ जना तैनाथ भन्ने शिर्षकमा न्युज २४ ले समाचार लेखेको छ ।