गुल्मी, २६ फागुन । अहिलेका जमानामा एउटै ब्यक्तिको २१ जना छोरा–छोरी ! त्यो पनि सबै सकुशल छन्, भन्दा पत्यार नलाग्ला । तर, वास्तविकता छर्लङ्गै छ कि गुल्मीका एक ब्यक्तिको २१ जना छोरा–छोरी सबै सकुशल छन् ।
२१ जना नै छोरा–छोरीहरु हट्टाकट्टा र निरोगी नै छन् । अहिलेको पिँढीलाई अनौठो लाग्ने त्यति धेरै सन्तानका बाबु हुन् गुल्मीको मुसिकोट नगरपालिका–३ पेगा गाउँका ७७ वर्षीय बिष्णुबहादुर पाण्डे ।
पाण्डेका १२ जना छोराहरु रहेका छन् भने ९ जना छोरीसहित २१ जना सन्तान छन् । उक्त २१ जना छोरा–छोरीका बाबु बिष्णु पाण्डे एक्लै भएपनि आमाहरु भने ३ वटी रहेका छन् ।
जेठी ६९ वर्षीया श्रीमती हिमकुमारी पाण्डेकी तर्फबाट ९ वटा सन्तान रहेका छन् । माइली श्रीमती बालकुमारी पाण्डेकी तर्फबाट ८ सन्तान रहेका छन्, भने भारतको सिलाङ्गमा रहेकी खस्यिया थरकी कान्छी श्रीमतीको नाम भने यहाँका परिवारका सदस्यले थाह नभएको बताए ।
पाण्डेका कान्छी श्रीमतीबाट ४ सन्तानसहित २१ जना छोरा–छोरीहरु सकुशल रहेका छन् । भारतको सिलाङ्गमा रहेका दुई छोरा र दुई छोरीहरुको बालपनमा खिचिएका चार तस्वीरसहित २१ जना पाण्डेका छोरा–छोरीको तस्वीर प्राप्त गरिएको छ ।
पाण्डेले कमाएको सम्पत्ती छोरा–छोरीका शिक्षा खर्चिएको परिणाम स्वरुप उनकी एउटी छोरी नेपाल सरकारको सीडीओसहित ८ जना छोरा–छोरी र बुहारी सरकारी जागिरे छन् ।
जेठा छोरा कर्णबहादुर पाण्डे यसअघि जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत थिए, भने हाल उनी काठमाडौंस्थित वन तथा वातवरण मन्त्रालयमा कार्यरत छन् । अर्का छोरा दलबहादुर पाण्डे सशस्त्र प्रहरीका डीएसपी रहेका छन् ।
अर्का छोरा मानबहादुर पाण्डे सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । अर्का छोरा चन्द्रबहादुर पाण्डे पृथ्वी माध्यामिक विद्यालय मुसिकोट नगरपालिका–३ मैदानका प्रधानाध्यापक रहेका छन् । अर्का छोरा बुद्ध पाण्डे सोही विद्यालयका लेखापाल रहेका छन् ।
अर्का छोरा रमेश पाण्डे कोष तथा लेखा निरीक्षक कार्यालयका सुब्बातहका कर्मचारी रहेका छन् । छोरी देवी पाण्डेले हालै पर्वत जिल्लाको सीडीओ अर्थात् प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी छन् । अर्का छोरा सुदन पाण्डे हालै नेपाल प्रहरीमा भर्ती भई बुुटवलमा तालिम गरिरहेका छन् ।
भारतमा रहेकी पाण्डेकी कान्छी श्रीमतीतर्फको छोरी पनि त्यहाँँको सरकारी कार्यालयको कर्मचारी हुन् । छोरा रमेश पाण्डेकी श्रीमती स्वरुपमा पाण्डे घरेलु तथा साना उद्योग विकास कार्यालयकी अधिकृत स्तरकी कर्मचारी हुन् । योसँगै पाण्डे परिवारका ९ जना सरकारी जागिरे छन् ।
अझ पाण्डेकी छोरी सरस्वती पाण्डे घिमिरे मुसिकोट नगरपालिका कार्य समित सदस्य हुन्, उनले पनि सरकारी भत्ता बुझ्ने गरेकी छन्, उनलाई समेत गणना गर्ने हो भने एकै परिवारका १० जना सरकारी अंगमा छन् ।
कमाएको पैसा छोरा–छोरीको शिक्षा र समाज सेवमा
बिष्णबहादुर पाण्डे भारतको सिलाङ्गका काठ ब्यवसायी भएकाले विगतमा अथाह सम्पत्तीको मालिक भएका ब्यक्ति हुन् । तर, उनले अथाह सम्पत्ती कमाएपनि अरु झैं शहरमुखी भएनन् । उनी गाउँ नै सजाउने र असली कृषक बनेर कमाएको रकम २१ जना छोरा छोरीको पढाईमा खर्चिए । र, बाँकी समाज सेवामा खर्चिए ।
उनले २०३३/३४ साल तिर निस्तेखोलाको एक्लेखेत फाँटमा आवत–जावत गर्ने आधुनिक झोलुङ्गे पुल आफ्नै खर्चमा बनाएर पारी हस्तीचौरतर्फ वारी पेगासम्मका सयौं जनतालाई सुविधा प्रदान गरेका थिए । त्यस्तै पेगामा खानेपानी सुविधा आफ्नै खर्चमा उपलब्ध गराए ।
तल रातडाँडा तम्घास सडक खण्डको भन्ज्याङ्ग चौतारीमा बटुवालाई खानेपानीको सुविधा उपलब्ध गराउन पानी ट्यांकी निर्माण गरे । पेगा निमावि, मैदानको पृथ्वी मावि र रेसुङ्गा क्याम्पसको स्तरोन्नतीका लागि पनि उनले ठूलो आर्थिक सहयोग गरेका थिए ।
केही दिनअघि मात्र भारतको सिलाङ्गमा कान्छी श्रीमतीको परिवार भेट्न बाबु त्यसतर्फ हिँडेका परिवारजनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्