काठमाडौं, ४ फागुन । पार्टीको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा विघटन गरिएको भए बदनियत र असंवैधानिक हुने एमिकस क्यूरीका सदस्यहरुले बताएका छन् ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई रायसुझाव दिनेक्रममा एमीकस क्यूरीका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पार्टीको किचलोका कारण प्रतिनिधिसभा विघटन गर्नु गलत हुने बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताउनुभयो । वरिष्ठ अधिवक्ता कार्कीले यो विषयमा आफ्नो प्रष्ट धारणा रहेको बताउनुभयो । संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने उहाँको तर्क थियो ।
जुन कारण देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभयो त्यो आधारमा मिल्छ कि मिल्दै भन्ने कुरा इजलासले व्याख्या गर्ने भएपनि पार्टीको आन्तरिक झगडालाई देखाएर संसद् विघटन गर्न नमिल्ने उहाँको तर्क छ ।
सर्वोच्च अदालतले गर्ने फैसलामा प्रधानमन्त्रीलाई जवाफदेही हुने संविधानले व्यवस्था गरेको थलो पनि देखाउनुपर्ने कार्कीको भनाइ थियो । पार्टीभित्र सचिवालय तथा अन्य निकाय रहेकोमा संविधानले चिनेको प्रधानमन्त्रीलाई जवाफदेही हुने थलोबारे संसद् रहेको उहाँको भनाइ थियो ।
बहुमतको सरकार रहेको अवस्थामा पार्टीभित्रको कलहका आधारमा प्रतिनिधिसभा विघटन गर्न नपाइने कार्कीको तर्क थियो ।
प्रधानमन्त्रीका तर्फबाट पेश भएको जवाफमा पार्टीभित्रबाट काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उल्लेख थियो । नेकपामा विवाद बढेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको दाबी हुँदै आएको छ ।