चीनको ‘अघोषित नाकाबन्दी’विरुद्ध व्यवसायीद्वारा रसुवामा प्रदर्शन

काठमाडौँ– स्थानीय व्यवसायीहरुले चीनको ‘अघोषित नाकाबन्दी’विरुद्ध प्रदर्शन गरेका छन्। व्यवसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनको क्रममा व्यवसायीहरु ‘व्यवसायीलाई गरिखान देउ, चीन वारिपारि कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर, अन्तर्राष्ट्रिय व्यापार कानूनको पालना गर, व्यापार तथा पारवाहन सम्झौता पालना गर, चीनसँग सहज व्यापारको लागि पहल गर सरकार र अघोषित नाकाबन्दी अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

 

रसुवागढी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको उनीहरुको भनाइ छ ।

सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको समेत गुनासो गरेका छन । अहिले रसुवागढी-केरूङ नाका हुँदै सामान आउन सकेको छैन।

केही दिनअघि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनको पछिल्लो रवैया प्रति असन्तुष्टि जनाएका थिए ।

विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनको चर्को आलोचना समेत गरेका थिए। पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ थियो।

१०-१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताएका थिए ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.