नेकपा ‘दाहाल–नेपाल’ समूहद्वारा ओलीलाई पार्टी सदस्यबाट निष्कासन

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको स्थायी कमिटि सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

अध्यक्ष ओलीलाई पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको उनले बताइन ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो ।

तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको नेतृ भुसालले जानकारी दिइन ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।

स्थायी कमिटीको अर्को बैठक मंगलबार बस्ने उनले जानकारी दिइन ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.