मोरङ , ७ माघ । मुठभेडको मुखमा पुगेको प्रदेश १ को प्रदेश सभा बैठक अन्ततः छोटो समय बसेर अनिश्चितकालका लागि स्थगित भएको छ ।
बैठक शान्तिपूर्णरुपमा सञ्चालन गर्ने सहमतिसंगै प्रदेश प्रमुखको पत्र पढेर बुधबारका लागि बैठक स्थगित भएको छ । प्रदेश १ को प्रदेश सभा अधिवेशनको पहिलो बैठक ३ मिनेट पनि नवसी अनिश्चितकालको लागि स्थगित भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले संसदको सातौं अधिवेशन आव्हान गरेको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाउनु भएको पत्र पढेर सुनाएपछि अर्को सूचना नआए सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नु भएको हो ।
नेकपा भित्रको विवादका कारण प्रदेश सभा बैठक संचालनमा अन्यौल भईरहेको बेला बुधवार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश प्रमुखको पत्रमात्र पढ्ने गरी बैठक संचालन गर्ने निर्णय भएको थियो ।
प्रदेश सभा अधिवेशन शुभारम्भमा विभिन्न दलका सांसदहरुले शुभकामना मन्तव्यदिने कार्यक्रम समेत हटाइएको थियो । विभाजन भएका नेकपाका दुवै समुहले एक अर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै दलका नेतालाई बोल्न नदिने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार संसदीय दलका नेताहरुले सम्बोधन गर्ने संसदीय परम्परा तोड्दै सीधै प्रदेश प्रमुखको पत्र पढेर सुनाएर बैठक स्थतिग भएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको र एक अर्कालाई निलम्बन गर्ने कार्य भएकाले प्रदेश सभा अधिवेशन संचालनमा गतिरोध आउने आशंका गरिएको थियो ।
बैठक स्थगित भएसंगै मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव अन्यौलमा परेको छ । यसैबीच नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठक स्थगित गरिएपछि पार्टी भित्रको विवाद मिलाउन समय मिलेको बताउनु भयो ।
उहाँले पाटी भित्रको विवाद मिलाएर चाडै बैठक आव्हान गरिने जानकारी दिनु भयो । नेकपा प्रचण्ड माधव समूहका नेता इन्द्र आङ्बोले भने प्रदेश सभाको बैठक चाँडै नै बोलाउने विश्वास व्यक्तगर्दै बैठक पुनः संचालन भएपछि मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावबारे छलफल गरिने जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने प्रदेश सभालाई अन्यौलमा राख्न नहुने बताउदै एक साताभित्र अर्को बैठक बोलाउने सहमति भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सभा एक हप्ताकालागि स्थगित गरिएको हो र त्यो भन्दा बढी लम्बिए प्रतिपक्षीले जे भुमिका गर्नु पर्ने हो त्यही अनुसार जाने बताउनु भयो ।
प्रदेश सभामा ओली समुहले कारवाही गरेका १६ ससद सदस्यलाई प्रवेश गर्न नदिने योजना बनाएपनि दाहल नेपाल समूहले पनि मुख्यमंत्री शेरधन राइलाई संसदीय दलको नेताबाट हटाएको भन्दै बोल्न नदिने रणनीति बनाएको थियो ।
प्रदेश सभा सचिवालयले मुठभेडको स्थिति आउन नदिन मर्यादापालकको संख्या बढाएको थियो । भने प्रदेश सभामा निलम्बन गरिएका सवै सांसदहरुको उपस्थिति रहेको थियो ।
मुठभेडको मुखमा पुगेको प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चिकालका लागि स्थगित