झापा, पुष २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताउनु भएको छ ।
सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा बोल्दै नेता लिङदेनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकीकरण गरेकैले अहिले ‘नेपाल’ देश बनेको उल्लेख गर्दै सरकारले राष्ट्र एकता दिवस मनाउने विषयमा कन्जुस्याईं गर्न नहुने धारणा राख्नुभयो ।
पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए देश पनि नरहने तर्क गर्दै उहाँले त्यही कारणबाट हालको राष्ट्रपति र प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । नेता लिङदेनले कतिपय विरोधीहरूले पृथ्वीनारायण शाहबारेको टिप्पणीको कुनै तुक नरहेको समेत बताउनुभयो ।
‘पछिल्ला राजनीतिक गतिविधिले नेपालको पहिचान हराउन थालेको छ’ उहाँले भन्नुभयो, ‘भाषा, राष्ट्रिय झण्डा तथा राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रयास भए, हिन्दुराष्ट्रको पहिचान त समाप्तै पार्न प्रयास भयो ।’
पछिल्ला राजनीतिक गतिविधिले नेपालको पहिचान हराउन थालेको भन्दै उहाँले भाषा, राष्ट्रिय झण्डा तथा राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रयास भए हिन्दुराष्ट्रको पहिचान समाप्त हुने धारणा राख्नुभयो ।
अन्य देशहरूमा पनि ती देशका निर्माता रहेका र तिनलाई ती देशहरूले सम्मान गर्ने गरेको लिङदेनको भनाइ थियो । तर नेपालमा भने देशको एकीकरण गर्ने राष्ट्र निर्माताको भूमिकालाई अवमूल्यन गर्ने गरेको उहाँले बताउनुभयो ।