काठमाडौं- शनिवार मध्य रातमा पाकिस्तानमा अचानक विद्युत सेवा अवरुद्ध भएको छ।उर्जा मन्त्रालयले ट्वीटमार्फत पावर ट्रान्समिशन सिस्टमको फ्रिक्वेन्सी अचानक ५० देखि ० गिरावटका कारण देशव्यापी ब्ल्याकआउट भएको जनाएको छ। मन्त्रालयका अनुसार यो प्राविधिक गडबडी राति ११ बजेर ४१ मिनेटमा भएको हो।
मन्त्रालयले यसको कारण पत्ता लगाउने प्रयास भइरहेको पनि ट्वीटमार्फत जानकारी गराएको छ।
मन्त्रालयले संयमित हुन अपिल समेत गरेको छ। स्थानीय वासिन्दाका अनुसार अचानक पाकिस्तानको कराँची, इस्लामाबाद, लाहोर, पेशावर, रावलपिण्डीलगायतका सबै प्रमुख शहरमा विद्युत अवरुद्ध भएको बीबीसीले उल्लेख गरेको छ।