काठमाडौं, १८ पुस । शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक युवकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको छ । आफैँ सवार गाडीले पैदल हिडिरहेका सर्वसाधारणलाई ठक्कर दिएपनि उद्धार नगरि हुइँक्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घाइते युवक लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ रहेको प्रहरीले जनाएको छ । मन्त्री साहको गाडी जलेश्वर जाँदै गर्दा मध्यान्न तामाङलाई ठक्कर दिएको हो ।
तामाङलाई बाटो काट्दै गर्दा ठक्कर दिएको प्रहरीको भनाइ छ । घाइते तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको हाल हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीको अनुसार ठक्कर दिएको मन्त्रीको गाडी भएको पुष्टि भएको छ । यद्यपि गाडी कहाँ छ भन्नेबारे पत्तो लगाउन नसकिएको प्रहरीको भनाइ छ