सडकमा पाँच पूर्व प्रधानमन्त्री, मुद्दा मिलेपनि आन्दोलन भने छुट्टाछुट्टै

काठमाडौं। सत्तारुढ दल भित्रको किचलो पछि प्रतिनिधि सभा नै विघटन भयो । एउटा दल भित्रको किचलो व्यवस्थापन हुँन नसक्दा सिंगो संविधानमाथी प्रहार भयो, र यति बेला दलहरु व्यवस्थामाथी नै आक्रमण भयो भन्दै आन्दोलनमा उत्रिएका छन् । अहिले नेपाल कम्युनिष्ट पार्टी दुई धारमा विभाजित छ । एउटा केपी ओली नेकपा, अर्को प्रचण्ड–माधव नेकपा । दुई दल मध्ये आधिकारिकता कसले पाउछ भनेर छिनोफानो गर्ने साँचो निर्वाचन आयोगको हातमा छ

संसद विघटनको बिरुद्धमा पनि सर्वोच्च अदालतमा १४ वटा रिट परेको छ । अन्तिम फैसला अदालतकै हातमा छ । प्रतिनिधि सभा विघटनका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित, प्रचण्ड–माधव नेकपा, जनता समाजवादी पार्टी नेपाल, विवेकशिल सहितका दलहरु आन्दोलन गर्दै आइरहेका छन । दिनहुँजस्तै फरक फरक दलका आन्दोलनले सडक तातेको छ ।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई सहित पाँच जना पूर्वप्रधानमन्त्रीहरु नै संविधानमाथी आक्रमण भयो र व्यवस्था जोगाउन गाह्रो भयो भनेर सडकमा निस्किएका छन् । आन्दोलनको विषय एउटै भए पनि शैली भने दल पिच्छे फरक फरक छ ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर्वाचन क्षेत्रमा उम्मेदवार बनेर जितेका र हारेका नेतालाई पठाएर संसद विघटनको बिरोधमा प्रदर्शन गरिसकेको छ । अब के गर्ने भन्ने बारे भने कांग्रेस भित्र अलमल छ ।

प्रचण्ड–माधव समूहले उपत्यका बाहेकका सबै जिल्लामा हिजो मंगलबार मात्रै संसद विघटन विरुद्ध शक्ति प्रदर्शन गर्दै संसद विघटनको निर्णय सच्याउन सरकारलाई चेतावनी दिएको छ । यो समूह दोस्रो चरणको आन्दोलतको तयारीमा छ ।

जसपाले काठमाडौं सहितका जिल्लाहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नेदेखि सडक प्रदर्शनसम्मका कार्यक्रम गरिरहेका छन् । विवेकशिल लगायतका दलहरु पनि आन्दोलनका लागि सडकमा निस्किएका छन् । तर प्राय सबै दलहरुको आन्दोलनको मुद्दा एउटै हुँदा आन्दोलन किन सँगै हुन सक्दैन त ?

प्रचण्ड–माधव समूहका नेकपाका प्रभावशाली नेता भीम रावल मुद्धा एउटै हुँदा पनि दलहरुका फरक फरक विचार, दृष्टीकोण र सिद्धान्त रहेकाले आआफ्नै विचार र सिद्धान्त अनुसार कार्यक्रमहरु आयोजना हुने बताउँछन् । ‘दलहरुका आआफ्नै विचार, सिद्धान्त र दृष्टीकोण छन्, त्यही अनुसार दलहरुले आआफ्नै रणनीति बनाएर कार्यक्रम गर्छन्, त्यही भइरहेको हुनसक्छ,’ नेता रावलले हाम्राकुरासँगको संवादमा भने । उनले संसद विघटनको असंवैधानिक कदमका बिरुद्ध दलहरु फरक फरक किसिमबाट आन्दोलनमा रहेपनि आन्दोलनका लागि साझा सहकार्यको प्रस्ताव उच्च तहबाटै भइरहेको जानकारी दिए ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले भने गत निर्वाचनदेखि नै प्रजातन्त्रमाथी एकपछि अर्को गर्दै हमला हुँदै आएकाले यो अवस्था आएको र यो अवस्था आउनुमा नेकपाका अहिले देखिएका दुबै समूह दोषी रहेको बताउँछन् । ‘यो अवस्था आउनुमा उहाँहरु सबै दोषी हुनुहुन्छ, सुरुदेखि नै लोकतन्त्रलाई सिध्याउने खेल भएकै हो, त्यसकारण कांग्रेस अब जे गर्छ एक्लै गर्छ, आन्दोलनमा सहकार्य भन्ने अहिले हुँदैन ।’ कांग्रेस सहमहामन्त्री महतले भने ।

प्रचण्ड–माधव समूहले भने संसद विघटनविरुद्धको पहिलो चरणको कार्यक्रम सफल भएको र दोस्रो चरणको आन्दोलन भने संयुक्त रुपमा गर्न उचित हुने निष्कर्ष निकालेको छ । बुधबार पेरिसडाँडामा बसेको सो समूहको स्थायी कमिटीको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । तर कांग्रेस भित्र भने सर्बोच्च अदालतमा रहेको विषयमा आन्दोलन गर्नुभन्दा आदेश कुर्ने र त्यसपछि अदालतको आदेश अनुसार निर्णय लिनेबारे छलफल भइरहेको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.