प्रधानमन्त्री ओलीले भारत भ्रमण गरे नयाँ चुच्चे नक्सा लिएर वहस गर्ने : ईश्वर पोखरेल

काठमाडौं, १४ पुष । उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेमा नेपालको नयाँ चुच्चे नक्सा लिएर भारत सरकारसँग वार्तामा जाने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू सिन्धुपाल्चोकले काठमाडौमा आयोजना गरेको विद्यार्थी भेला कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले अब भारत भ्रमण गरेमा नयाँ चुचे नक्सा लिएर भारत सरकारसँग वार्तामा जाने बताउनुभएको हो ।

 

उहाँले प्रधानमन्त्री ओलीले नयाँ नक्सा लिएर राष्ट्रिय शक्तिको प्रतिनिधि भएर भारत सरकारसँग आँखामा आँखा जुधाएर वार्ता गर्नका लागि भारत भ्रमणमा जाने उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मानको पक्षमा उभिए वापत दण्ड गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।

उहाँले पार्टी भित्रका नेताहरुले पदको आकांक्षामा षड्यन्त्रको बाहक बनेर काम गर्नु दुर्भाग्यूर्ण भएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले जनताको आकांक्षा पूरा गर्न ठूला सपना देखेर दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएपनि अहिले बज्रपात भएको बताउनुभयो ।

पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीले आग्रह गरेपनि अस्वीकार गरेको भन्दै प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएको आरोप गलत भएको जिकिर गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले महाधिवेशनपछि अध्यक्ष पद छाड्न तयार रहेपनि निर्वाचित प्रधानमन्त्रीलाई तत्काल हट्न दबाब दिएपछि बाध्य भएर संसद विघटन गरेर आम निर्वाचनको घोषणा गरिएको बताउनुभयो ।

प्रचण्ड र माधव नेपालको चरम महत्वाकांक्षकाका कारण अहिलेको दुर्भाग्यपूर्ण अवस्था निम्तिएको उहाँले आरोप लगाउनुभयो ।

त्यस्तै उपप्रधानमन्त्री पोखरेलले ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने र सूर्य चिन्ह पनि ओलीले नेतृत्व गरेको नेकपाले पाउने ठोकुवा गर्नुभयो ।

उहाँले आगामी बैशाखका लागि घोषणा गरिएको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई समेत आग्रह समेत गर्नुभयो ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.