बेलायतबाट नेपालमा नयाँ भाइरस भित्रिएको आशंका, २३५ जना निगरानीमा

काठमाडाैं, १२ पुष । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् । १४ जना क्वारेन्टाइनमा छन् ।

उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ÷छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।

नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो । त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा. गौतमले बताए ।

मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ । बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो । अहिले फ्रान्स डेनमार्क, नाइजेरियालगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ। यस भाइरसले त्रास बढाएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.