काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक र राष्ट्रिय राजनीतिका विषयमा आफूलाई साथ दिन महामन्त्री डा. शशांक कोइरालासँग आग्रह गरेका छन् ।
संसद विघटनपछि उत्पन्न परिस्थितिमा पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट तीव्र आलोचना खेपिरहेका बेला देउवाले कोइरालाको साथ खोजेका हुन् ।
सभापति देउवा आफैंले फोन गरेर आइतबार बिहानै महामन्त्री कोइरालालाई आफ्नो निवासमा आउन आग्रह गरेका थिए । कांग्रेस वृत्तमा गोप्य राख्न भनिएको भेटमा सभापति देउवा, महामन्त्री कोइराला, अर्का महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित थिए ।
देउवाले बोलाएपछि बिहान ११ नबज्दै खाना खाएर कोइराला बूढानीलकण्ठ पुगेका थिए । नेताहरुबीच करीब दुई घण्टा छलफल भएको थियो । नेकपाभित्र विवाद बढेको भए पनि प्रधानमन्त्री केपी ओलीले संसद भंग गर्लान् भन्ने आफूले नठानेको देउवाले बताए । प्रधानमन्त्री ओलीसँग मिल्यो भनेर आफूलाई लगाइएको आरोपको पनि देउवाले खण्डन गरेका छन् ।
उनले सोमबारको प्रदर्शनलाई सफल र संयमित बनाउनुपर्नेमा जोड दिएका थिए । ‘सडकबाट संसद पुनःस्थापना गर्नुभन्दा अदालतको निर्णय हेरेर चुनावमा जानु कांग्रेसको हितमा हुन्छ । कार्यकर्ताको मूड पनि बुझ्नुपर्यो नि’, देउवाको भनाइ थियो ।
FacebookTwitterFacebook MessengerWhatsAppLinkedInShare