काठमाडौं, १० पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा गराएको नयाँ मन्त्रीहरुको सपथ ग्रहण समारोहमा विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित भएका छन् ।
विघटित संसदका सभामुख सापकोटाले संसद् बैठक बोलाउने चर्चा चलिरहेकोे समयमा नयाँ मन्त्रीको सपथ समारोहमा उपस्थित हुनुलाई रहस्यमय भएको भन्दै विश्लेषण गर्न थालिएको छ ।
यसअघि संसद विघटनसँगै राजीनामा दिएका मन्त्रीको रिक्त ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) नयाँ मन्त्रीलाई नियूक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले बोलाएका संवैधानिक परिषदको नियुक्तसम्बन्धी बैठकमा सभामुख सापकोटा अनुपस्थित थिए ।
उक्त बैठकमा सभामुख अनुपस्थित भएपछि ओलीले मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन् । गत मंसिर ३० गते ओलीले बोलाएका संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा उपस्थित भएनन् । उक्त समयमा संसद विघटन भएको थिएन ।