काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने बताएका छन् । निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रित भएको उल्लेख गर्दै निर्वाचन आयोगलाई कुनै शंका नगरी निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएका हुन् ।
निर्वाचन आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको बताएको थियो । जवाफमा ओलीले सरकारले सम्पूर्ण व्यवस्था गर्ने उल्लेख गर्दै ढुक्क भएर निर्वाचनको तयारी गर्न सुझाएका थिए ।
ओलीले आयुक्तहरुसँग ढुक्कले निर्वाचनको तयारी गरी निष्पक्ष निर्वाचन गराउन आदेश दिएका थिए । निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाएको छ । आयुक्तहरुले वैशाख २७ गते एकै चरणमा निर्वाचन गराएमा खर्च कम लाग्ने भएकोले त्यसो गर्न सरकारलाई सुझाव दिएका छन् ।