साढे दुई तलाको घर बनाउँदा कति खर्च लाग्छ ?

काठमाडौँ उपत्यकामा घर बनाउने सपना धेरैले देखेका हुन्छन् । तीमध्ये कमैलाई ‘कति तलाको घर बनाउन कति खर्च लाग्छ ?’ भन्ने जानकारी हुन्छ । जीवनभरको कमाइले घर बनाउन कस्सिएका कतिपय उपभोक्ता भने यस विषयमा अनविज्ञ हुन्छन् । जसले गर्दा ठेकेदार, निर्माण कम्पनी, सप्लार्यसबाट ठगिने गर्छन् ।

अनुमानित बजेट थाहा भए रकम जोहो गर्न सजिलो त हुन्छ नै दुःखले आर्जेको पैसा ठगिने सम्भावना पनि कम हुन्छ । पहिलो पटक घर बनाउने उपभोक्तालाई ‘कस्तो खालको सामग्री प्रयोग गर्ने ?’ भन्ने ज्ञान नहुँदा अनावश्यक खर्च गरिरहेका हुन्छन् । त्यसैले घर बनाउनुअघि हरेक निर्माण सामग्रीको अनुमानित लागत थाहा पाउनुपर्छ ।

यस लेखमा साढे दुई तलाको मध्यम खालको घर बनाउँदा कति खर्च लाग्छ भनेर  जानकारी गराइएको छ ।

चार आना जग्गामा गाडी र बाइक पार्किङ गर्न मिल्ने ठाउँ राखेर चार कोठाको घर नौ सयदेखि एक हजार स्क्वायर फिटमा बनाइने इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी जिरो डीआईए नेपालका सञ्चालक सत्येन्द्र राज भट्टराई बताउँछन् । ‘यति जग्गामा घर बनाउँदा एउटा तलामा १२ बाई १३ फिटका तीन कोठा, १४ बाई १५ फिटको बैठक कोठा र ७ बाई ५ फिटको एउटा बाथरुम तयार हुन्छ,’ उनी भन्छन् । यहाँ चर्चा गर्न लागेको घरमा भुइँतला र पहिलो तलामा चार÷चार कोठा र टपमा दुई कोठा र एउटा बाथरुम हुनेछ ।

सिमेन्टः ८ लाख रुपैयाँ

घर बनाउँदा दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ, ओपीसी र पीपीसी । सामान्यतया बिम र ढलानमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ ।  गाह्रो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग हुन्छ । ओपीसी सिमेन्टको तुलनामा पीपीसी अलि सस्तो हुन्छ ।

भट्टराईका अनुसार अढाई तलाको घर बनाउँदा एक हजार बोरा सिमेन्ट खपत हुन्छ । जसमध्ये पाँच सय बोरा ओपीसी र पाँच सय बोरा पीपीसी । बजारमा सिमेन्ट पनि विभिन्न ब्रान्ड र मूल्यमा उपलब्ध हुन्छन् । अलि राम्रो सिमेन्ट प्रयोग गर्दा ओपीसी सिमेन्ट प्रतिबोरा ८ सय ५० र पीपीसी सिमेन्ट ७ सय ५० रुपैयाँमा पाइन्छ ।

उल्लेखित मूल्यअनुसार ओपीसी सिमेन्टमा ४ लाख २५ हजार र पीपीसी सिमेन्टमा ३ लाख ७५ हजार रुपैयाँ गरी सिमेन्टमा कुल आठ लाख रुपैयाँ खर्च हुन्छ । निर्माणको सिजनअनुसार सिमेन्टको भाउ पनि तल–माथि भइरहन्छ । अहिले कोभिड–१९ का कारण विकास निर्माण र घर निर्माणका काम सुस्ताउँदा सिमेन्टको माग ७५ प्रतिशतसम्म घटेको छ । जसले गर्दा मूल्य पनि ब्रान्ड र प्रकार हेरिकन प्रतिबोरा २५ देखि एक सय रुपैयाँसम्म सस्तोमा किन्न पाइन्छ ।

डन्डीः १२ लाख ७५ हजार रुपैयाँ

अढाई तलाको घर बनाउँदा झन्डै १५ हजार केजी (१५ टन) डन्डी खपत हुन्छ । अहिले बजारमा विभिन्न ब्रान्ड र गुणस्तरका डन्डी पाइन्छन् । हिमाल र पञ्चकन्याका डन्डी अलि महँगो पर्छन् भने जगदम्बा, लक्ष्मीलगायत ब्रान्ड अलि सस्तो पर्छ । राम्रो खालको डन्डी प्रयोग गर्दा प्रतिकिलो ८५ रुपैयाँ खर्च गर्नुपर्छ । साढे दुई तलाको घर बनाउँदा डन्डीमा मात्र १२ लाख ७५ हजार रुपैयाँ खर्च हुने राजभण्डारी बताउँछन् ।
अलि सस्तो डन्डी प्रयोग गर्न चाहेमा बजारमा प्रतिकिलो ७५ रुपैयाँसम्म पनि किन्न पाइन्छ ।

बालुवाः २ लाख ६० हजार रुपैयाँ

साढे दुई तलाको घर बनाउन बालुवा १० टिपर चाहिन्छ । माटो नमिसिएको सफा बालुवाको मूल्य प्रतिटिपर २६ हजार रुपैयाँ रहेको राजभण्डारी बताउँछन् । यो मूल्यमा बालुवा किन्दा १० टिपरमा २ लाख ६० हजार रुपैयाँ खर्च हुन्छ । माटो मिसिएको बालुवा अलि सस्तो पर्न सक्छ तर निर्माण बलियो हुँदैन ।

गिट्टीः २ लाख २४ हजार रुपैयाँ

घर बनाउन गिट्टी नभईन हुने निर्माण सामग्री हो । जति राम्रो गिट्टी हुन्छ, त्यति नै गिट्टी, बालुवा र सिमेन्टको घोल राम्रो हुन्छ । त्यसैले गिट्टी किन्दा गुणस्तरमा ध्यान दिनैपर्छ ।

भट्टराईका अनुसार अढाई तलाको घर बनाउँदा आठ टिप्पर गिट्टी खपत हुन्छ । बजारमा राम्रो खालको गिट्टीको मूल्य प्रतिटिपर २८ हजार रुपैयाँ रहेको छ । जसअनुसार आठ टिपर गिट्टी किन्दा २ लाख २४ हजार रुपैयाँ खर्च हुन्छ ।

पछिल्लो समय निर्माण क्षेत्र सुस्ताएपछि गिट्टी र बालुवाको मूल्य पनि घटेको व्यवसायी बताउँछन् । ‘अहिले प्रतिटिपर २८ हजारभन्दा कम मूल्यमा पनि गिट्टी पाउन सकिन्छ,’ भट्टराई भन्छन् ।

इँटाः ७ लाख ७५ हजार रुपैयाँ

घर बनाउँदा इँटा चाहियो नै । अढाई तलाको घरमा ५० हजार पिस पोलेको रातो इँटा चाहिने भट्टराई बताउँछन् । अहिले बजारमा ठिक्क गुणस्तरको इँटाको मूल्य प्रतिगोटा १५ रुपैयाँ पर्छ । अढाई तलाको घर बनाउँदा इँटामा मात्रै ७ लाख ७५ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

तर, पछिल्लो समय निर्माण क्षेत्रमा भएको विकाससँगै पोलेका इँटाको विकल्पमा नयाँ प्रविधिका एएसी ब्लक र इन्टरलक इँटा हुन सक्छन् । जसको मूल्य पनि कम पर्न जान्छ र गुणस्तर पनि राम्रो छ । यदि पोलेको इँटाको सट्टामा एसीसी ब्लक र इन्टरलक इँटा प्रयोग गर्दा २० देखि २५ प्रतिशतसम्म सस्तो पर्न जान्छ । यी इँटाको गाह्रो लगाउँदा र प्लास्टर गर्दा पनि सिमेन्ट र बालुवाको मसला पनि कम खपत हुन्छ ।

यूपीभीसी झ्यालः २ लाख ४० हजार रुपैयाँ

पछिल्लो समय झ्यालमा काठको सट्टा यूपीभीसी प्रयोग गर्न थालिएको छ । काठभन्दा सस्तो पर्ने र जडान खर्च पनि कम लाग्ने हुनाले धेरैको रोजाइमा यी झ्याल पर्न थालेका हुन् ।
भट्टराईका अनुसार अढाई तलाको घरमा ६ बाई ४.५ फिटका १६ झ्यालको आवश्यकता पर्छ । एउटा यूपीभीसी झ्यालको मूल्य १५ हजार रुपैयाँ पर्छ । यसो हुँदा झ्यालमा मात्र २ लाख ४० हजार रुपैयाँ खर्च हुने गर्छ ।

ढोकाः ३ लाख ६० हजार रुपैयाँ 

अढाई तलाको घरमा २० वटा ढोका चाहिन्छन् । एउटा ढोकाको मूल्य १८ हजार पर्छ । त्यसैले २० वटा ढोकामा ३ लाख ६० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

बिजुली जडानः ३ लाख ७० हजार रुपैयाँ

मध्यम खालको अढाई तलाको घरमा विद्युतीकरण गर्न ३ लाख ७० हजार रुपैयाँ लाग्छ । जसमध्ये बिजुलीका सामानमा ३ लाख २५ हजार र लेवर कस्ट ४५ हजार पर्न आउँछ ।
महँगो मूल्यका लाइट प्रयोग गर्दा भने खर्च पनि बढी आउँछ । बजारमा सस्ता र महँगा दुवै किसिमका लाइट पाइन्छन् । मान्छेको रुचिअनुसार लाइटिङमा खर्च हुने भट्टराई बताउँछन् ।

रङरोगनः ३ लाख ५० हजार रुपैयाँ

साढे दुई तलाको घरमा रङरोगन गर्न ३ लाख ५० हजार रुपैयाँजति खर्च लाग्छ । भट्टराईका अनुसार रङ किन्नका लागि २ लाख ५० हजार रुपैयाँ र रङ लगाउन एक लाख रुपैयाँ लाग्छ ।

स्टिल रेलिङः २ लाख रुपैयाँ

घरको भ¥याङदेखि बार्दलीसम्म रेलिङ राख्नुपर्ने हुन्छ । अढाई तलाको घरमा स्टिलको रेलिङ राख्दा दुई लाख रुपैयाँ खर्च हुने राजभण्डारी बताउँछन् ।

टायल/मार्बलः ३ लाख रुपैयाँ

घरको भ¥याङ, भान्छादेखि गल्लीमा टायल र मार्बल प्रयोग हुन्छ । अढाई तलाको घरमा टायल, मार्बल र ग्रेनाइट राख्न तीन लाख रुपैयाँ खर्च गर्नुपर्छ । उच्चगुणस्तरको मार्बल, टायल र ग्रेनाइट राख्न चाहेमा अझ बढी खर्च हुन सक्छ ।

किचन र्याक: १ लाख ५० हजार रुपैयाँ

भान्छामा मार्बल, टायल र ग्रेनाइट प्रयोग हुन्छ । यसको मूल्य माथि नै जोडिइसकेको छ । भान्छामा ¥याक राख्नुपर्ने हुन्छ । जसमा एक लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । भान्छामा जति बढी फर्निसिङ गर्न खोज्यो, त्यति नै बढी खर्च गर्नुपर्छ ।

प्लम्बिङ पाइपलाइनः ९० हजार रुपैयाँ

अढाई तलाको घरमा पाइप फिटिङ गर्नका लागि ९० हजार रुपैयाँ खर्च लाग्ने भट्टराई बताउँछन् ।

ट्यांकीः १ लाख ७२ हजार रुपैयाँ

घरमा सेफ्टी ट्यांकी, रिजर्भ ट्यांकी र छतमा प्लास्टिकको ट्यांकी राख्नुपर्ने हुन्छ । प्लास्टिक ट्यांकी राख्न स्ट्यान्ड पनि चाहिन्छ । सेफ्टी ट्यांकी बनाउन ४० हजार, रिजर्भ ट्यांकी बनाउन ८० हजार, एक-एक हजार लिटर अटाउने दुई वटा ट्यांकी राख्न २२ हजार र स्ट्यान्डको ३० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

छतमा जाने घुमेको फलामे भ¥याङः २५ हजार रुपैयाँ

दुई तला माथिबाट छतमा जानका लागि फलामको घुमेको भ¥याङ राख्नुपर्ने हुन्छ । यो भ¥याङ राख्न २५ हजार रुपैयाँ खर्च लाग्छ ।

आउटर कम्पाउन्डवर्कः १ लाख ५० हजार रुपैयाँ

चार आनाको घर बनाउँदा गाडी राख्नका लागि खाली ठाउँ हुन्छ । त्यो खाली ठाउँमा ढुंगा छापेर चिटिक्क पार्नका लागि १ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ ।

बाउन्ड्री वालः ३ लाख रुपैयाँ

मेटलको फेन्ससहित बाउन्ड्री वाल लगाउँदा करिब तीन लाख रुपैयाँ खर्च हुने भट्टराई बताउँछन् ।

मेन गेटः ६० हजार रुपैयाँ

घरमा बाउन्ड्री वाल लगाएपछि गेट पनि राख्नुपर्छ । अलि बलियो फलामे गेट राख्न ६० हजार रुपैयाँजति खर्च लाग्छ ।

ठेक्का रकम : १२ लाख

घर बनाउन निर्माण सामग्री किनेर मात्र हुँदैन । राम्रो कन्स्ट्रक्सन कम्पनीलाई निर्माणको जिम्मा लगाउनुपर्छ । अढाई तलाको घर बनाउन ठेकेदार कम्पनीले मजदुरको ज्यालासहित १२ लाख रुपैयाँ लिने भट्टराई बताउँछन् ।

एउटा अढाई तलाको घर निर्माणका लागि ७४ लाख ७१ हजार रुपैयाँ खर्च लाग्ने देखिन्छ । ‘यति लागतमा बलियो, सुरक्षित र राम्रो घर बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘अझै सेवासुविधा थप्न चाहेमा लागत बढ्दै जान्छ ।’

उनका अनुसार घर बनाउँदा खर्च गर्ने ठाउँ जति पनि हुन्छन् । अत्याधुनिक सेवासुविधा राखेर मोटो रकम खर्च गर्न सकिन्छ । महँगा लाइट प्रयोग गरे पनि धेरै पैसा खर्च हुन्छ । पछिल्लो समय घरमा स्वचालित प्रविधिको पनि प्रयोग हुन थालेको छ । भन्छन्, ‘सेवासुविधाका लागि खर्चको सीमा नै छैन ।’

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.