काठमाडौं, १२ मंसिर । भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । बिहीबार बिहान नेपाल आइपुगेका श्रृंगला दिनभर उच्चस्तरीय राजनीतिक भेटघाट र छलफलमा ब्यस्त रहे ।
समकक्षीसँगको वार्तासँगै प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेतासँगको उनको भेटमा पछिल्लो समय दुई देशबीच देखिएको सीमा विवादको विषयले भने प्रवेश पायो ।
भारतीय विदेश सचिव हर्षबद्र्धन श्रंगलाले बिहीबार काठमाडौं ओर्लिएलगत्तै भनेका थिए कि यो भ्रमण नितान्त सम्बन्ध सुधारमा केन्द्रित हुनेछ । उनले बिहीबार अपराह्न होटल याक एण्ड यतिमा आयोजित दुई देशबीचको परराष्ट्रसचिवस्तरीयको बैठकमा सहभागी भए ।
बैठकमा द्विपक्षीय सम्बन्धको पुनरावलोकन गर्नुका साथै व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, इनर्जी, संस्कृति, कृषि, लगानी लगायतका विषयमा कुराकानी भयो ।
साथै, दुई देशबीच उच्चस्तरीय भ्रमण गर्ने/गराउने बारेमा समेत छलफल भएको थियो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा पनि सीमा विवादको विषयमा कुरा भएको थियो ।
भेटमा भारतीय विदेश सचिव श्रृंगलाले दुई देशको बिचमा विगत एक वर्षमा केही समस्या देखिएकोबारे आफूलाई जानकारी भएको र त्यसलाई वार्ताबाट नै समाधान गर्नुपर्ने बताएका थिए । बिहीबार साँझ नै श्रृंगलाले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग पनि भेटघाट गरेका थिए ।
देउवाले दुई देशको बिचमा उच्च राजनीतिक तहमा संवाद आवश्यक भएको बताएका थिए भेटमा भारतीय पक्षले कोभिडको अति संकटको समयमा पनि नेपालसँगको सप्लाई प्रणालीमा कुनै पनि समस्या आउन नदिएको नेपाली पक्षलाई बताएको थियो ।
बिहीबार सम्पूर्ण उच्चस्तरीय भेटघाट सकाएका श्रृंगलाले शुक्रबार भने औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी भए । त्यसपछि गोरखामा भारतीय सहयोगमा निर्माण भएको आवासहरूको हस्तान्तरण सम्बन्धी कार्यक्रममा सहभागी भएभने भारतीय सहयोगमा मनाङमा निर्माण भएको एक गुम्बाको काठमाडौंबाटे उदघाट्न समेत गरे ।
र, एआई डीआईए नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित प्रवचनमा श्रंगलाले दक्षिण एसियामा कुनै पनि मुलुक एक्लै अघि बढ्न नसक्ने बताउँदै दुवै देशको सरकारले भावी पुस्ताप्रति जवाफदेही भएर सशक्त सहकार्य गर्नुपर्ने बताएका थिए ।
दुई दिने नेपाल भ्रमणका क्रममा सम्बन्ध सुधारका केही झलक देखाउँदै संवादको आइसब्रेक गरेर श्रृंगला शुक्रबार नै भारत फर्किए । अब, भारतमा डिसेम्बर अन्त्यमा हुने मन्त्रीस्तरीय बैठकले श्रृंगलाको दुई दिने नेपाल दौडधुपले कस्तो नतिजातर्फ धकेल्ला भन्ने चासो बढेको छ ।