तुलसीपुर, १२ मंसिर । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी एक युवाको आतंकारी हमलामा परि मृत्यु भएको छ । भारतको जम्मू-कश्मिरमा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं, ९ बेलुवा निवसी ३० बर्षीय प्रेम केसीको शुक्रवार विहान आतंकारी हमला परि मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
शुक्रवार विहान ५ बजेतिर केसीको समुहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको दाजु तुलसी केसीले बताए । दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार विहान ९ बजेतिर फोन गरि प्रेमलाई गोली लागेको भन्ने खबर दिएको थियो ।
लगतै उनका साथीहरुलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी दिएकाे तुलसीले बताए । प्रेमको शव लिन बोलाएको हुँदा घरवाट उनका बुवा लालबहादुर केसी भारत गइसकेका छन् । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन ।
प्रेमले भारतीय सेनामा जागिर खाएको १४ बर्ष पुगेको थियो । प्रेमका ७ बर्षीया छोरी र ५ बर्ष जतिका छोरा रहेको तुलसीले जानकारी दिए । उनको शव शनिवार सम्म आइपुग्ने जानकारी दिइएको छ ।