भात खान ६ महिनादेखि खुलामञ्च

काठमाडौं, २६ असाेज । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो ।

एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी चिन्छन् र आफूले लगाएका चप्पल खोलेर लाइन लागेर भुइँमा बस्छन् । हरियो ज्याकेट लगाएका युवाहरू कागजका प्लेट तथा कप बाँड्न थाल्छन् । खाना बाँड्न सुरु हुन्छ । मान्छे थपिएको थपियै छन् ।

यो दैनिकी विगत ६ महिना अघिदेखिकै हो । कोरोना संक्रमण सुरु भएयता खुलामञ्चमा हाम्रो टिम नेपालको समूहले स्वतस्फूर्त रूपमा गरिब, असहाय तथा विपन्नसहित सहारा गुमाएका व्यक्तिलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ ।

त्यही भीडमा खाना खाँदै छिन् दोलखा सिंगटीकी ४२ वर्षीया पम्फा थापा । उनी १५ चैतदेखि नै खाना खान खुला मञ्च आइरहेकी छिन् । पम्फाको सहारा तीन र नौ वर्षकी दुई छोरी हुन् । श्रीमान्ले छाडेको धेरै भयो । सानी छोरीको मुटुमा प्वाल छ । किलागलमा भाडाको कोठा छ । त्यहीबाट हरेक महिना छोरीको उपचारमा गंगालाल धाउने उनी भात खान भने खुला मञ्च आउँछिन् ।

‘श्रीमान्ले छाडेको धेरै भयो, सहाराका लागि दुई छोरी छन् । एउटीको मुटुमा प्वाल छ, कोरोनाले पेट पाल्नै नसक्ने अवस्था भयो, महामारी सुरु भएदेखि नै खाना खान खुलामञ्च आउने गरेकी छु,’ थापाले भनिन् ।

खुलामञ्चमा गत चैतबाटै खान खान आउने गरेका अर्का व्यक्ति हुन्, धनबहादुर कार्की । उनी वीर अस्पतालको गेट आसपासमा सधैं र सबैले देखेका अनुहार हुन् । उनी हरेक दिन खाना खान त्यहाँ पुग्छन् ।

‘कोरोनाले गर्दा सडकमा भोकभोकै हुनुपर्ने अवस्था आयो, चैतदेखि नै खाना खान यहाँ धाइरहेको छु, भोको पेट भर्न खुलामञ्च सहारा भएको छ,’ उनले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.