इंग्लिस प्रिमियर लिग : सलाहको ह्याट्रिकमा लिभरपुलको जित

एजेन्सी, २८ भदाै । फरवार्ड मोहमद सलाहले ह्याट्रिक गरेपछि च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडलाई पराजित गरेकाे छ । गएराति भएकाे खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ४-३ ले गाेल अन्तरले  पराजित गरेको हाे ।

खेलकाे तेस्रो मिनेटमा नै लिभरपुलले पेनाल्टीमार्फत अग्रता लिएकाे थियाे । मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि लिभरपुलले पेनाल्टी पाएकाे थियाे । उक्त पेनाल्टीमा सलाहले सहजै गोल गर्दै  लिभरपुललाई अग्रता दिलाएका थिए ।

 

गत वर्ष च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको लामो पासलाई ज्याक ह्यारिसनले गाेल गरेका थिए ।

लिभरपुलले २० औं मिनेटमा नै अग्रता पुन: स्थापना गर्यो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकले गाेल गर्दै लिभरपुललाई पुन अग्रता दिलाए । तर ३० औं मिनेटमा लिड्स युनाइटेड खेल बराबरीमा फर्काए । डच डिफेन्डरले लामो पासलाई क्लियर गर्न नसक्दा बामफर्डले उक्त बललाई गाेलमा परिणत गरे ।

बराबरी भएको तीन मिनेट नबित्दै लिभरपुलले पुन: अग्रता लियो । मोहमद सलाहले व्यक्तिगत दाेस्राे गाेल गर्दै लिभरपुललाई ३-२ गाेलकाे अग्रता दिलाए ।

दाेस्राे हफमा पनि दुवै टाेलीले एक/एक गाेल थप्न सफल भए । खेलकाे ६६ औं मिनेटमा लिड्स युनाइटेडले खेल पुन: बराबरीमा ल्यायाे । हेल्डर कोस्टाको क्रसलाई म्याटुएज क्लिकले गोलमा परिणत गरे । क्लिकले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेको भलीलाई एलिसनले बचाउन सकेनन् ।

खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथोपटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

ई-आवाज संवाददाता

Learn More →

Leave a Reply

Your email address will not be published.