सिम्ता सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । केसीसँगै उनका गाडी चालक र अर्का एक कर्मचारीलाई पनि संक्रमण देखिएको छ ।
बुधबार आएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरूलाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना समुदायमा फैलन नदिन पालिकाअन्तर्गतका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, पसललगायत बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत जनक हमालले बताए ।
अध्यक्ष केसीसँगै चालक र ती कर्मचारी अहिले वागेश्वरी माविको आइसोलेसनमा बसिरहेका छन् । अध्यक्षसँग सम्पर्कमा आएका जनप्रतिनिधि, कर्मचारी गरी ४२ जना होम क्वारेन्टाइनमा रहेको हमालले जानकारी दिए ।
स्वास्थ्यकर्मीको टोलीले बिहीबार अध्यक्षसँग सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरिरहेको उनले बताए ।
कोरोना संक्रमितहरू बजारमा लुकीछिपी हिँडेको र व्यापारीहरूसँग भेटघाट गरेको फेला परेपछि कुमाख गाउँपालिकाको केन्द्र रागेचौर बजार पनि एक साताका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष दानमाया बुढामगरले बताइन् ।