पर्सा, २३ भदौ । कोरोना संक्रमणबाट वीरगंजमा थप दुई जनाको मृत्यु भएको छ भने एकजना मृतकको कोरोना संक्रमण पुष्टि हुन सकेको छैन । कोरोनाबाट मृत्यु हुनेमा बाराका एक जना तथा पर्साका एकजना गरि दुई जना पुरुष रहेका छन् । अर्का एक जना मृतकको भने कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेको भएपनि संक्रमण पुष्टि हुन बाँकी रहेको अस्पताल स्रोतले बताएको छ ।
कोरोना संक्रमणबाट बारा जिल्लाको महागढीमाई नगरपालिका वडा-१० गंजभवानीपुर निवासी ६० बर्षीय पुरुष तथा पर्सा जिल्ला बीरगंज महानगरपालिका-३० लालपर्सा निवासी ५४ बर्षीय पुरुषको मृत्यु भएको छ भने सोमबार नै मृत्यु भएका बाराकै सपही-१ निवासी २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि हुन नसकेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाराको गंजभवानीपुर निवासी पुरुषमा सावन १४ गते कोरोना संक्रमण पुष्टि भई स्वास्थ्यमा समस्या आएपछि भदौ १५ गते अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थकेयरमा भर्ना भएकोमा उपचारको क्रममा सोमबार राति करिब १०ः४५ बजेको समयमा मृत्यु भएको बताउनुभयो ।
त्यसैगरि, अर्का बीरगंज महानगरपालिका-३० लालपर्सा निवासी पुरुषको उपचारको क्रममा नारायणी अस्थायी कोभिड अस्पताल हेल्थकेयरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भई भदौ १५ गते हेल्थकेअर अस्पतालको आईसियुमा राखी प्लाज्मा थेरापी बिधिबाट उपचार भईरहेको उक्त पुरुषको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी दिनुभयो ।
त्यस्तै, बारा जिल्लाकै सपही निवासी २३ बर्षीय पुरुषको उपचारको क्रममा आईतबार राति करिब ८ बजेको समयमा मृत्यु भएको हो । कोरोना सम्बन्धी मिल्दो जुल्दो लक्षण सहित शनिबार राति करिब १२ः३० बजे नारायणी अस्पतालमा भर्ना भएका उक्त पुरुषको उपचारको क्रममा २० घण्टा नबित्दै मृत्यु भएको प्रवक्ता डा चौरसियाले जानकारी दिनुभयो ।
मृतक पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको तर रिपोर्ट नआएको कारण कोरोना संक्रमण पुष्टि हुन नसकेको अस्पताल स्रोतको भनाइ छ ।
मृतक तिनैजना पुरुष सहित बीरगंज स्थित कोरोना अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । जसमध्ये पर्साका ४२ जना, बाराका १३ जना तथा रौतहटका तीनजना रहेका छन् । बेवारिसे अवस्थामा फेला परि कोरोना संक्रमणबाट ज्यान गुमाएका एकजना पुरुषको पहिचान खुल्न सकेको छैन भने कोरोना सँगै मिल्दो जुल्दो लक्षण भई सोमबार मृत्यु भएका बाराको सपही निवासी २३ बर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ ।