बुटवल, २० भदाै । रुपन्देहीमा काेराेनाभइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।
अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाका अनुसार बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति करिब ११ बजे मृत्यु भएकाे हाे । ती पुरुष गत भदौ १५ गते खोकी र ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेका थिए । उनको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थियो ।
यसैगरी, शनिबार बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको डा थापाले जानकारी दिनुभयाे ।
दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले बताउनुभयाे ।