बझाङ, १७ भदौ । कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि बझाङमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबार जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेको हो ।
जिल्लाको दूर्गाथली गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङ गर्दा १० जना र बुंगल नगरपालिकासहित केदारस्यूँ गाउँपालिकामा पनि स्थानीयमा कोरोना पुष्टि भएपछि जिल्लामा एक साताका लागि आज (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको पीसीआर रिपोर्ट आउन ढिला भएको थियो । साथै, क्वारेन्टाइनबाट घर गइसकेपछि उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।
सोही क्रममा कन्ट्याक्ट ट्रेसिङ गर्दा समूदायस्तरमै कोरोना देखिएको उनको भनाइ छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक सरकारी कार्यालय, सवारी साधन र आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताइएको छ ।
त्यस्तै, स्थानीय बजारहरु विहान र बेलुका २/२ घन्टा बाहेक अन्य समय पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रजिअ भन्डारीले जानकारी दिए । साथै जिल्लाका १२ वटै स्थानीय तहमा १ सय बेडसम्मको आइसोलेशन स्थापना गर्ने तथा सुदुरपश्चिम प्रदेश सरकारलाई ५ हजार भीटीएम किटको माग गर्ने पनि निर्णय भएको छ ।
हालसम्म बझाङमा संक्रमितको संख्या १ सय ३५ पुगेको छ । साथै, ७ सय ७५ जनाको पीसीआर रिपोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।